
आज सुर्खेतसहित १२ जिल्लामा काँग्रेसको वडा अधिवेशन
सुर्खेत - क्रियाशील विवादलगायतका विविध कारणले रोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट शुरू हुँदैछ। यसअघि भदौ १८ बाट शुरू भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सकिएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले कैलालीमा टेकप्रसाद सुवेदी बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन समितिले जनाइएको छ । यस्तै सप्तरीमा डा.रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा ईन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत बनाएर पठाइएको छ ।
विवादका कारण बाँकी रहेका जिल्लाको वडा अधिवेशन आजबाट सुरू हुने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।निर्वाचन समितिका अनुसार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, बारा, सोलुखुम्बु, दार्चुला, म्याग्दीमा आज वडा अधिवेशन हुँदैछ।
यस्तै सिन्धुपाल्चोक, पर्सा र सर्लाहीमा आज वडा अधिवेशन नहुने भएको छ। सिन्धुपाल्चोकमा ३० गते वडा अधिवेशन हुनेछ भने पर्सामा अझै टुंगो लागेको छैन। यता सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएकाले त्यहाँको अधिवेशन पनि अनिश्चित बनेको छ।
यसअघि अधिवेशन सकाइएका वडामा पनि पटक पटक गरी अधिवेशनको मिति तोकिएको थियो ।
वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका निकालेको छ ।
यस्तै हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन कात्तिक २७ र जिल्ला अधिवेशन मंसिर एक गते हुने छ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर एक गते अधिवेशन हुने छ । पालिका अधिवेशन सम्पन्न भएका बाँकी ६४ वटा जिल्लामा मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशन हुने छ ।
मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुने छ । उक्त कार्यतालिका प्रभावित नभए मंसिर २४–२६ मा काँग्रेसले १४ औं महाधिवेशन गर्ने छ ।