नेपाली कांग्रेसको पहिलो प्रदेशसभा अधिवेशन बाट ८ हजार ९ सय नयाँ नेतृत्व आउँदै
नेपाली कांग्रेसले प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा ल्याउने भएको छ। पहिलोपटक प्रदेशसभा अधिवेशन गर्न लागेको कांग्रेसले ३३० वटा प्रदेशसभाबाट एकैपटक करिब ९ हजार नेतालाई अधिवेशनमार्फत जिम्मेवारी दिन लागेको हो।
‘पहिलोपटक हुन लागेको प्रदेशसभा अधिवेशनमा प्रत्येक प्रदेश क्षेत्रबाट २७ जनाको कार्यसमिति चयन हुनेछ,’ निर्वाचन समितिका सचिव केशव रिजालले भने, ‘३३० वटा प्रदेशसभाबाट आउनेको संख्या करिब ९ हजार हुनेछ, यो पुरै नयाँ नेतृत्व हो।’ उनकाअनुसार एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सह-सचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् भने नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत अर्थात ४ जना मनोनित गर्नेछन्।
सर्लाहीसहित केही वडामा अधिवेशन हुन नसकेकाले ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन भने नहुने सम्भावना देखिएको छ। ‘सर्लाहीलगायत केही जिल्लामा वडा र स्थानीय तहको अधिवेशन हुन नसकेकाले ३३० प्रदेशसभामा अधिवेशन हुन नसके पनि गराउने प्रयत्न जारी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने। उनकाअनुसार ३ मंसिरमा सम्पन्न हुन प्रदेशसभा अधिवेशन हुन नसकेमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउनेछ।