माघ २०, २०८२
एमाले महाधिवेशन: अध्यक्ष पदका लागि ओली र रावल बिच निर्वाचन हुने

एमाले महाधिवेशन: अध्यक्ष पदका लागि ओली र रावल बिच निर्वाचन हुने

नेकपा एमालेको १० औँ महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्न असफल भएका छन्। आइतबार दिनभरको लामो प्रयासपछि पनि ओली सर्वसम्मत अध्यक्ष बन्न सकेनन्।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले कुनै पनि हालतमा पछि नहट्ने भएपछि चुनाव हुने भएकाके छ। ओलीले महाधिवेशन प्रतिनिधिलाई आफ्नो विवेक प्रयोग गर्न नदिइ सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरेका थिए।अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिया भन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो।

सोमबार बिहान मनोनयन दर्ताको कार्यक्रम छ। त्यहाँ अध्यक्षमा रावलले उम्मेद्वारी हाल्दैछन्। आइतबार मध्यरात नै उनले फारम लगेर भरिसकेका छन्

अब अध्यक्ष ओलीले प्रस्ताव गरेको पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूमा चुनाव हुन्छ। नेता घनश्याम भुसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन्। त्यसैले उनले पनि उपाध्यक्षमा उम्मेदवारी दिने सम्भावना रहेको  छ।

उनले उम्मेदवारी दिए उपाध्यक्ष पदमा पनि निर्वाचन हुन्छ। केन्द्रीय सदस्यहरूमा पनि धेरै आकांक्षीको नाम छुटेको छ। त्यसैले ती पदमा पनि निर्वाचन हुने सम्भावना रहेको छ। नेता सुवासचन्द्र नेम्बाङका अनुसार आवश्यक संख्या भन्दा बढी भएका पदमा निर्वाचन हुन्छ।

केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरेका थिए । तर उनलाई चुनौती दिइरहेका भीम रावलले असहमति जनाएपछि अन्ततः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो ।