पुस १२, २०८१
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। बुधवार कर्णाली प्रदेश सभाको वैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्। कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले आज ३० औं दिनमा विश्वासको मत लिएका छन्। 

मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा बैठकमा उपस्थित २२ जना प्रदेशसभा सदस्यले मत खसालेका थिए |

माओवादीका १३, समाजवादीका ३, काँग्रेसका ६ र राप्रपाका एकजना सांसदले उनलाई विश्वासको मत दिएका हुन्।मुख्यमन्त्री नियुक्त हुँदा उनले राप्रपा बाहेकका २१ जना सांसदको समर्थन पाएका थिए।
आजको वैठबाट कर्णाली प्रदेश सभामा एकमात्र सांसद रहेको राप्रपाले पनि समर्थन गरेपछि उनले २२ जनाबाट विश्वासको मत पाए। राप्रपाका सांसद सोशिला शाहीले मुख्यमन्त्री शाहीलाई समर्थन गरेकी हुन्।

मुख्यमन्त्री शाहीले मंगलबार नै विश्वासको मत लिने भनिएपनि प्रमुख प्रतिपक्षी दललाई पर्खिएर मंगलबारको वैठक कार्यसूची प्रवेश गरी स्थगित भएको थियो।

आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बुधवारको प्रदेश सभा वैठकमा सहभागी भएन।