राष्ट्रिय सभा सदस्य निर्वाचन माघ १२ गते हुने तय
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अगामी माघ १२ गते गर्ने भएको छ ।
आयोगले आज राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्दै माघ १२ गते गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।
आयोगको तालिका अनुसार निर्वाचनमा भाग लिन चहाने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दर्ता गर्नुपर्ने छ । पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने छ ।
यस्तै, पुस १८ र १९ गते उम्मेदवारीमाथि परेका निवेदन तथा उजुरी उपर छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने आयोगले जनाएको छ ।
यसैगरी, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।