देश विकासमा सहकारीको महत्वपूर्ण योगदान छ : मन्त्री खतिवडा
कतिपय सहकारीहरू ठगी आरोपमा परिरहेको अवस्थामा राम्रा काम गर्ने सहकारी ओझेलमा परेको बताउँदै उहाँले सचेत पूर्वक सहकारीले आफ्ना सदस्यको हितमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले संस्थाका सदस्य होसियार रहनुपर्ने उल्लेख गर्दै हिसाब–किताब खोजी गर्न र नेतृत्व तहलाई खबरदारी गरिरहन सदस्यलाई आग्रह गर्नुभयो ।
आफूले पाएको स्वास्थ्यमन्त्रीको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास दिलाउँदै उहाँले कोभिड–१९ महामारीको डटेर सामना गर्न सक्ने रणनीति अबलम्बन गरिएको बताउनुभयो । मन्त्री खतिवडाले सबै जनतालाई खोप लगाउने आफ्नो जिम्मेवारी भएको बताउँदै भन्नुभयो, “स्टक रहेको खोप नागरिकलाई लगाउन स्वास्थ्यकर्मीहरू खोपको डब्बा बोकेर गाउँटोल पुगेका छन्, प्रत्येक नागरिकलाइ खोप लगाउन पाउनुहुन्छ ।” अब १६ हजार स्थानबाट खोप कार्यक्रम सञ्चालन गर्ने बताउँदै उहाँले पहिलो र दोस्रो खोप पूरा गरिसकेकाका निम्ति बुस्टर डोज नेपाल सरकारले निःशुल्क लगाइदिने जानकारी दिनुभयो ।
मन्त्री खतिवडाले फरक प्रसङ्गमा आफू थाहा नगर आउने भएपछि यहाँका एमालेका नेताहरूलाई ज्वरो आएको र अनेकौँ आन्दोलनबाट प्राप्त उपलब्धिलाई व्यक्तिवादले सक्काउन खोजेको आरोप लगाउनुभयो । उहाँले थाहानगरमा बन्दै गरेको १५ शय्याको अस्पताल निर्माण सम्पन्न भएपछि त्यसका लागि आवश्यक आइसीयूलगायत उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल कृषि सहकारी सङ्घ केन्द्रीय लेखा समिति संयोजक महेश्वर सुवेदीले सहकारी संस्था समाजवादी प्रक्रियामा भन्दा पूँजीवादी प्रक्रियामा चलेकाले लाभांश वितरणमा एकरुपता नभएको बताउनुभयो ।
संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीले आफ्नो प्रतिवेदन राख्दै हाल संस्थाको आर्थिक कारोबार रु एक अर्ब १९ करोड पुगेको जानकारी दिनुभयो । उहाँले शेयर पूँजी रु ७० करोड १२ लाख तथा कर्जा लगानी रु ९५ करोड पुगेको प्रतिवेदन पेश गर्नुभयो ।