कांग्रेसमा १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी ; उम्मेदवारी दर्ताबाट ५८ लाख आम्दानी
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको उम्मेदवारहरुको मनोनयन दर्ताबाट ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी भएको छ ।
कांग्रेसको निर्वाचन समितिका अनुसार १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट उक्त रकम संकलन भएको हो ।
सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठेको छ । सभापतिका लागि ३० हजार शुल्क निर्धारण गरिएको थियो । सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।
त्यस्तै उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो निर्वाचन समितिले उपसभापतिका सात जना प्रत्यासीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ । २० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख संकलन भएको छ ।।
उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्णबहादुर खड्का, दिवेश्वरी शाह, र विजयकुमार गच्छदार छन् ।महामन्त्रीमा विश्प्रकाश शर्मा, डा. मिनन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, राजाराम कार्की र प्रदिप पौडेलको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा भने २० जनाको उम्मेदवारी परेको छ ।
सबैभन्दा धेरै सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ संकलन भएको छ । केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । सदस्यहरुमध्ये थारुमा १४ जना, मधेशीमा ३२ जना, आदिवासी जनजातीमा ८७ जना, खसआर्यमा ९३ जना, दलितमा ३९ जना, महिलामा ३१ जना, पिछडिएको क्षेत्रमा २ जना, अपांगमा १६ जना, अल्पसंख्यकमा ६ जना, मुस्लिममा १६ जना, प्रदेश १ मा १३ जना, प्रदेश २ मा ५ जना, बागमतीमा ९ जना, गण्डकीमा ७ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ७ जना, सूदुरपश्चिममा १२ जना र खुल्लामा १०९ जनाको उम्मेदवारी परेको छ ।