माघ २१, २०८२
माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने

नेकपा माओवादी केन्द्रले आइतबारबाट सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो। आइतबार बस्ने केन्द्रीय कमिटीको बैठकले यस निर्णयलाई अनुमोदन गर्नेछ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो बढेकाले यसलाई आठौँ महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको बताएका थिए। माओवादीको विधानमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन दुवै आयोजना गर्न सकिने व्यवस्था छ।

पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प हुने देखिएको छ भने हाल कायम रहेका स्थायी कमिटी सदस्यलाई नै १५ सदस्यीय पदाधिकारीमा रूपान्तरण गर्ने निर्णय शुक्रबारै भइसकेको छ।

महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्ने छ। माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग बनाएको छ।