पुस ८, २०८१
प्रदेश २ को नाम र राजधानी  विशेष समितिले टुङ्गो लगाउने

प्रदेश २ को नाम र राजधानी विशेष समितिले टुङ्गो लगाउने

प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन १६ सदस्यीय समिति गठन भएको छ । 

समितिमा सभामुख यादव – सभापति, उपसभामुख देव – उपसभापति तथा अन्य सदस्य रहेका छन् । सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दिलीपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा, सुरीता साह हुन् । 

सभामुख सरोज यादव संयोजक र उपसभामुख उपमा देव सहसंयोजक रहने गरी संसदीय अध्ययन विशेष समिति गठन गरिएको हो । राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको सभामुख यादवले  बताए ।

सभामुख यादवले भने, ‘दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन तोकिएको हो । समितिले आवश्यक परे स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल पनि गर्न सक्नेछ ।’

यसअघि दुईपटक नाम र राजधानीको प्रस्ताव दुई तिहाइ नपुग्दा असफल भएको थियो । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ ।

त्यस्तै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसले मिथिला–भोजपुरा नामाकरण प्रस्ताव गरेको छ । नेपाली कांग्रेसका केही सांसदहरुले मध्यमधेस नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।

समितिले १५ दिनभित्र प्रतिवेदन तयार पार्नुपर्नेछ । सोही प्रतिवेदनका आधारमा प्रदेशसभाबाट नाम र राजधानी तय गरिनेछ । सहमति नजुटे प्रदेशसभामा निर्वाचन प्रक्रियाबाट नाम र राजधानी तय हुने छ ।