पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालीन बन्द गर्ने जनमत पार्टीका अध्यक्ष सीके राउतको घोषणा
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पूर्व–पश्चिम राजगर्म अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।
पार्टीका अध्यक्ष डा. राउतले बुधवार एक विज्ञप्ति जारी गर्दै पुस १५ गतेदेखि पूर्व–पश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने उल्लेख गरेका छन्।
किसानको मुद्दा बोकेर आन्दोलनरत जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ । किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको उनले उल्लेख गरेका छन् । मन्त्रीस्तरीयरउच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको अध्यक्ष डा. राउतले आरोप लगाएका छन् ।
यस्तै आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनों राउन्ड अश्रुग्यास चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको पनि उनको आरोप छ ।
जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।