ठूला नेताको सम्पत्ति छानविन गर्न माओवादीमा उठ्यो आवाज, कार्यकर्ताले घेरे नेतालाई
नेकपा माओवादी केन्द्रमा नेताको सम्पत्ति छानविन गर्नुपर्ने आवाज उठेको छ ।
आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रतिनिधिहरुले नेताहरुको सम्पत्ति छानबिनको माग गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक वैचारिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्षमा विभिन्न टोलीले सम्पत्ति छानविनको विषय उठाएका हुन् ।
प्रदेश २ समूहका प्रतिनिधि सत्यनारायण भगतले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय चर्को रुपमा उठेको बताए । जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर्न निष्कर्ष रहेको उनले जानकारी दिए ।
गण्डकी प्रदेशबाट गायत्री गुरुङले पनि आफ्नो समूहमा नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको छलफलका क्रममा उठेको भन्दै यसबारे गम्भीर जाँच गर्न माग गरिन । कर्णाली प्रदेशबाट विमला केसीले पनि नेताहरुको सम्पत्ति सार्वजनिक गरिनुपर्ने माग गरिन् ।
प्रतिनिधिहरुले सम्पत्तिको माग उठाएर नेताहरुलाई घेरेका छन् । पार्टी शुद्धिकरणको अभियानका लागि सम्पत्ति छानविन गरेर बढी देखिएको पार्टीको नाममा गर्नुपर्ने र आवश्यक कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।