माघ २१, २०८२
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नवनिर्वाचित केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ ।

सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा प्रचण्डलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।

सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।

बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उनको नाम प्रस्ताव गरेको एक नेताले बताए । पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उनले बताएका थिए ।

प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको उनले बताए ।