सरकार टिकाउन गठबन्धनको निरन्तरता आवश्यक रहने : महामन्त्री गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो सरकार टिकाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका छन्।
आमचुनावसम्म यो गठबन्धनबाट नै सरकार निरन्तर रहने बताएका उनले चुनावमा भने पार्टीले आफ्नै उम्मेदवार तय गर्ने बताएका छन् |
अहिलेको गठबन्धनलाई चुनाव हुने बेलासम्म टिकाएर जान्छौं,’ गोरखामा आज आयोजित प्रशिक्षण कार्यक्रममा थापाले भने, ‘हामी संविधानलाई तलमाथि हुन दिन्नौं। संसदको गतिरोध अन्त्य गर्छौं। अदालत र अर्थतन्त्र ठिक ठाउँमा ल्याउँछौं। पार्टीलाई विधान अनुसार चलाउँछौं।
उनले वैशाखमा स्थानीय तह निर्वाचन हुने भएकोले अहिलेदेखि नै तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए।
तीन महिनापछि स्थानीय चुनाव हुन्छ। अब पहिलेजस्तो हुन्न, एक महिना पहिले नै उम्मेदवार तय हुन्छ,’ उनले भने, ‘ढिलो गरी उम्मेदवार तय गर्ने पहिलेको जस्तो यसपालि हुन्न। ढुक्क हुनुस् विधानले भनेअनुसार एक महिना अगाडि नै उम्मेदवार तय गरिन्छ।
उनले कांग्रेसको शत्रु भनेको गरिबी भएको बताए। ‘एमाले र माओवादीलगायत दलहरू हाम्रा शत्रु होइनन्। शत्रु गरिबी हो,’ उनले भने।
माहामन्त्री थापाले गठबन्धनबाट राष्ट्रिय सभा उम्मेदवार भएकाहरूलाई जिताउन इमान्दार हुन पनि आग्रह गरेका थिए। सत्तागठबन्धनले राष्ट्रिय सभामा रिक्त १९ पदमा भागबन्डा गरेर उम्मेदवार उठाएका छन्, कांग्रेसबाट ६ जना उम्मेदवार छन्।