पुस ८, २०८१
भर्चुअल माध्यमबाट गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव

भर्चुअल माध्यमबाट गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव

गण्डकी प्रदेशसभाले आफ्नो चौथो वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना महामारीका कारण प्रदेशसभा सचिवालयले वार्षिकोत्सवलाई भर्चुअल माध्यमबाट सम्पन्न गरेको हो ।  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गण्डकी प्रदेश नेपालको मध्यभागमा परेको र नेपालको राज्य एकीकरण पनि यहीँबाट सुरु भएको जनाउँदै यहाँ गरिने जुनसुकै निर्णयले समग्र राष्ट्रमा नै महत्वपूर्ण प्रभाव पार्ने बताए ।

विकासका निम्ति सधैं आकांक्षी हुनुपर्ने उल्लेख गर्दै उनले सङ्घीयताको मर्म र भावनाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । केन्द्रमुखी प्रवृत्ति अझै पनि कायम रहेको जनाउँदै पूर्वप्रधानमन्त्री भट्टराईले प्राप्त अधिकारलाई कार्यान्वयन गरी प्रयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले देशमा तीन तहका सरकार गठनले राज्यले जनतासम्म पुग्ने आधार फराकिलो बनाएको बताए । केन्द्रमा मात्र निर्भर हुने अवस्था कम हुँदै गएपछि नागरिकका चाहना पनि बढेको र सरकारप्रतिको आशा तथा भरोसा बढेको उनले बताए । चारवर्षे अवधि महत्वपूर्ण भए पनि अझ धेरै काम गर्न बाँकी रहेको र परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न सबै दलहरू दलीय स्वार्थबाट माथि उठ्नुपर्नेमा जोड दिए ।प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशलाई सबै किसिमबाट पहिलो प्रदेशका रुपमा स्थापित गर्नुपर्ने बताए । प्रदेशसभा गठनको यस अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाउँदै उनले यसको कार्यान्वयनका लागि लाग्नुपर्ने आवश्यकता औँल्याए । 

संविधानसभा सदस्य डा.भीष्म अधिकारीले सङ्घीयताको परीक्षण कालमा रहेको उल्लेख गर्दै यसबीचमा बनेका कानुनको कार्यान्वयनको अवस्था एवं आगामी दिनमा बन्ने कानुनबारे छलफल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । संविधानसभा सदस्य अमृता थापाले संविधानको मर्मअनुसार प्रदेशसभा नयाँ संरचनाका रुपमा स्थापित बनेको जनाउँदै सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहको समन्वयात्मक व्यवहार आवश्यक भएकामा जोड दिए । संविधानसभा सदस्य एकनाथ ढकालले परिवर्तनलाई संस्थागत गर्ने क्रममा रहेको उल्लेख गर्दै प्रदेशसभाले गर्ने निर्णय पछिका लागि नजिर हुने हुँदा राम्रा निर्णय गर्न सुझाव दिए ।

प्रदेशसभा उपसभामुख सिर्जना शर्माले यसबीचमा प्रदेश सभाबाट विभिन्न महत्वपूर्ण काम सम्पन्न भएको बताए । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल र कम्प्युटर अधिकृत रविन्द्र घिमिरेले प्रदेशसभाका गतिविधिबारे जानकारी गराए । प्रदेशसभा सचिवालयले तयार गरेको स्मारिका मुख्यमन्त्री पोखरेल, सभामुख अधिकारी, उपसभामुख शर्माले सामूहिक रुपमा विमोचन गरेका हुन | रासस