माघ २०, २०८२
जिल्ला निर्वाचन व्यवस्थापन समिति सुर्खेतले आसन्न स्थानीय तह निर्वाचनको तयारी सुरु

जिल्ला निर्वाचन व्यवस्थापन समिति सुर्खेतले आसन्न स्थानीय तह निर्वाचनको तयारी सुरु

 प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहने व्यवस्थापन समितिले मतदानस्थलको सुरक्षा संवेदनशीलताको स्तरीकरण गर्नुका साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य थालेको हो । 

प्रमुख जिल्ला अधिकारी एवं समिति संयोजक खगेन्द्रप्रसाद रिजालले मतदानस्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापनलगायतका विषयमा अध्ययन भइसकेको बताए । उनका अनुसार सुरक्षाका दृष्टिकोणले सुर्खेतका २९ मतदानस्थल अति संवेदनशील, ७६ संवेदनशील र ३३ मतदानस्थललाई सामान्य मानिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षा रणनीति अपनाइने उनको भनाइ छ । “मतदानस्थलको स्थलगत अवलोकन गरिसकेका छौँ, सुरक्षा संवेदनशीलताका आधारमा स्तरीकरण गरी केन्द्रमा प्रतिवेदन पनि पठाइसकेका छौँ”, प्रजिअ रिजालले भने, “स्थानीयस्तरमा निर्वाचन कार्यालय खोल्ने विषयमा स्थानीय तहका प्रमुख÷उपप्रमुखसँग समन्वय भइरहेको छ, छिट्टै स्थानीय तहका केन्द्रमा निर्वाचन कार्यालय स्थापना गरिनेछ ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचनको कार्यतालिका बमोजिम निर्वाचनको तयारी अघि बढाइएको बताए । कार्यालयले सुर्खेतको निर्वाचन व्यवस्थापनका साथै कर्णाली प्रदेशको निर्वाचनको समन्वय गर्नेछ । फागुन १९ गते सबै वडामा मतदाता नामावलीको विवरण पठाइने, त्रुटि सच्याउनुपर्ने भए सच्याउन सकिने र चैत १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको समय तोकेको छ । 

यसैबीच, प्रदेश निर्वाचन कार्यालयले छैँटौँ निर्वाचन दिवसका अवसरमा शुक्रबार आचारसंहिता र निर्वाचन व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेको छ । २०१५ साल फागुन ७ गते मुलुकमा पहिलो आमनिर्वाचन भएको थियो । निर्वाचन आयोगले २०७३ सालदेखि हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । यस वर्ष ‘निर्वाचनमाः सबै, सधैँ, सँगै’ नारा तय गरिएको जानकारी आएको छ | रासस