राप्रपाको पाँच प्रदेशमा विस्तारित बैठक सम्पन्न
गत मंसिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले संगठन विस्तारका क्रममा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हालै बैठक सम्पन्न गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । यही फागुन महिनाभित्र प्रदेश नं १ र बागमती प्रदेशमा बैठक सम्पन्न गर्ने कार्य तालिका राहेको छ ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने, देशभर संगठन विस्तार गरी नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षण समेत दिइएको छ । देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ ।
समितिले नेताको सक्रियताका साथै जनतामा लोकप्रियता भएको आधारमा केन्द्रमा उम्मेदवार सिफारिस गर्ने छ । त्यसैका आधारमा चुनावमा उम्मेदवार छनोट गरिने छ । पार्टीले संगठन सुदृढीकरणका लागि वडा, नगर, क्षेत्रीय तहका विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको छ । रासस