
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले गरे शपथ ग्रहण
राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरूलाइ शपथ दिलाएका हुन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिनासमक्ष उनीहरुले शपथ लिएका हुन् । तिमिल्सिनाले सदस्यहरुलाई ब्याचसमेत वितरण गरेका छन ।
राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।
शपथ लिने नवनिर्वाचित सदस्यमा कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार,जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, रहेका छन् ।
यसैगरी नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह (गरिमा), जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिए ।
नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि सङ्घीय कानुन अनुरुप शपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ ।