पुस ९, २०८१
पूर्वअर्थमन्त्री पौडेल : बिग्रँदो आर्थिक अवस्थामा हस्तक्षेप नगरे नेपाल  श्रीलंकाको बाटोमा

पूर्वअर्थमन्त्री पौडेल : बिग्रँदो आर्थिक अवस्थामा हस्तक्षेप नगरे नेपाल श्रीलंकाको बाटोमा

काठमाडौं/२७ चैत– पूर्व अर्थमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपका एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले नेपालको बिग्रदो अर्थतन्त्रलाई गम्भिरतापूर्वक नलिए नेपाल श्रीलंकको बाटोमा जाने बताएका छन् ।

अर्थतन्त्रबारे धारणा सार्वजनिक गर्न आयोजित आकस्मिक पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारका नीति तथा कार्यक्रमनै आर्थिक संकटतर्फ लैजाने खालको रहेको भन्दै प्रधानमन्त्री वा मन्त्रीले श्रीलंका बन्न दिन्नौं भन्दैमा पत्याउने अवस्था नरहेको बताए । 

पौडेलले ओली नेतृत्वको सरकारले कोभिड अगाडिका सुरूका तीन वर्षमा लगभग ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि गरेको भन्दै अहिले कोभिड नर्मल हुँदा पनि ३ देखि ४ प्रतिशतको मात्र प्रक्षेपण गरिएको बताए । उनले अर्थतन्त्रका सबै सूचक नकारात्मक र कहालीलाग्दो रहेको बताएका छन् ।


त्यस्तै पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताए । राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेको पौडेलको भनाई छ । ‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो’ पौडेलले भने ।

मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदमुक्त गर्ने प्रक्रिया सुरु गरेको उपाध्यक्ष पौडेलकाे आरोप लगाए । ‘सरकारले यो निर्णय सच्याओस् अन्यथा, यो निर्णयमा सरकार कायम रहे मुलुकको अर्थतन्त्र थप धरासायी हुन्छ’ उनले भने, ‘जुन प्रकारको नग्न हस्तक्षेप गरिएको छ । यो महाप्रसाद अधिकारीमाथि गरिएको होइन, प्रणाली स्थापिन गर्ने प्रयासमाथिको हस्तक्षेप हो।’

सोही अवसरमा नेता पौडेलले वर्तमान सरकारले व्यापार घाटामा छलाङ मारेको समेत आरोप लगाए । अघिल्लो आर्थिक वर्षमा १०४ अर्बले मात्र रहेको चालु खाता घाटा यस वर्ष ह्वातै बढेर ४०० अर्ब पुगेको समेत उनले बताए । रेमिट्यान्समा वैदेशिक रोजगारीमा जानेहरुको संख्या २५६.९ प्रतिशतले बढ्दा पनि उल्टो रेमिट्यान्स आप्रवाह ५ प्रतिशतले घट्नु शंकाको विषय बनेको बताए । जबकी आफ्नो सरकारको पालामा अधिकतम ८५.०५ विदेशिनेहरुको संख्या घट्दा पनि ९ प्रतिशत माथिले रेमिट्यान्स बढेको उनले जिकिर गरे ।