पुस ९, २०८१
जलवायु परिवर्तनमा केन्द्रित ‘काठमाडौँ फिल्म फेष्टिवल’

जलवायु परिवर्तनमा केन्द्रित ‘काठमाडौँ फिल्म फेष्टिवल’

‘जलवायु कर्म’ मुख्य विषयलाई आधार मानेर शुरु फेष्टिवलमा प्रतियोगितात्मकसहित विभिन्न ६३ वटा चलचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । चलचित्र विकास बोर्डमा आजदेखि शुरु महोत्सव यही २७ गतेसम्म चल्ने छ ।

महोत्सव अन्तरगत नेपाल पानारोमामा १३ वटा फिल्म समावेश गरिएको छ भने अन्तरराष्ट्रिय प्रतिस्पर्धामा ४० वटा चलचित्र समावेश छ । ‘ग्रीन ग्रोथ–ग्रीन रिकभरी’ विषयमा लघु फिल्म तथा ‘कल टु एक्सन’मा टिकटक च्यालेन्ज पनि हुने कार्यक्रममा जानकारी दिइएको थियो । अन्तरराष्ट्रिय प्रतियोगिताबाट उत्कृष्ट तीन र नेपाल पानोरमाबाट उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गरिने जनाइएको छ ।

महोत्सवमा समावेश चलचित्रले जलवायु परिवर्तन र यसबाट मानव जीवनमा परेको असर तथा हिमाली जनजीवनमा परेको असरका विषयमा घच्घच्याउन सहयोग पुग्ने दावी आयोजकको छ ।

महोत्सवमा फिक्शन, डकुमेन्ट्री, प्रयोगात्मक, छोटा तथा एनिमेशन गरिएका चलचित्र प्रदर्शन हुने कार्यक्रम संयोजक निसिता थापा मगरले जानकारी दिनुभयो । यसपाली प्रत्यक्षरुपमा र अनलाइनसमेतबाट महोत्सवमा समावेश चलचित्र हेर्न सकिने छ ।

अमेरिकी चलचित्रकर्मी काइल रुडिकद्वारा निर्देशित चलचित्र ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिएको थियो । प्रमुख वक्ता भारतका पर्यायवरणविद सोनम वाङचुकले मानव जातिका कारण पर्यावरणमा परेको प्रभावप्रति गम्भिरतापूर्वक सोच्ने बेला आएको बताउनुभयो । उहाँले महोत्सवले त्यसलाई उजागर गर्ने आशा व्यक्त गर्नुभयो ।

महोत्सवअनतरगत ‘क्लाइमेट कर्म’को विषयमा छलफलसमेत गराउने तथा फोटोसम्बन्धी प्रशिक्षणसमेत हुने छ । यस्तै महिनावारीसम्बन्धीसमेत छलफल कार्यक्रम राखिएको लिम्बुले जानकारी दिनुभयो ।

फेष्टिवलका एकजना निर्णयक चलचित्रकर्मी अनुप बरालले कतिपय कलाकार यस्तै महोत्सवमार्फत बाहिर आएको उल्लेख गर्दै काठमाडौँ माउन्टेन चलचित्र महोत्सवको छुट्टै महत्व रहेको बताउनुहुन्छ । “यहाँ सामान्य सिनेमा मात्रै छैन, अदभूत सिनेमा हेर्न पाइन्छ”, उद्घाटनसत्रमा बरालले भन्नुभयो, “यसले आफूभित्र फर्किएर जीवनलाई गहिरोरुपमा हेर्न सिकाउने छ ।

” नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विकसित देशको कार्वन उत्सर्जनले हिमाली क्षेत्रमा असर गरिरहेको सन्दर्भ जोड्दै यसले नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले बोर्डसमेतले जलवायु, संस्कृति र जीवनलाई जोडेर विषय पस्किने प्रयास गरेको जानकारी दिनुभयो । अन्तरराष्ट्रिय प्रतिस्पर्धातर्फको विजेताले रु दुई लाख, दोस्रो, तेस्रोले क्रमशः रु एक लाख ५० र रु एक लाख पुरस्कार पाउनेछन् ।

नेपाली पनारोमा अन्तरगतको उत्कृष्ट वृत्तचित्रका लागि रु ७५ हजार र उत्कृष्ट फिक्सनका लागि रु एक लाख पुरस्कार दिइने छ । एक हजार डलरको उत्कृष्ट माउन्टेन फिल्म अवार्ड पनि वितरण गरिनेछ ।