पुस ९, २०८१
स्वास्थ्य र शिक्षाको सुधार प्राथमिकतामा छ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद  केसी

स्वास्थ्य र शिक्षाको सुधार प्राथमिकतामा छ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य र शिक्षाको सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । स्वास्थ्य र शिक्षामा समान अवसर र निःशुल्क हुन सकेमात्र समाजवादको बाटो तय हुने उहाँले बताउनुभयो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–४ स्थित पाल्हीनन्दन अस्पतालको आज उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सरकारले स्वास्थ्यको क्षेत्रमा नवीनतम् कार्यक्रमहरू ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान गठबन्धन सरकार सङ्घीयता कार्यान्वयन कसरी गर्नुपर्छ भनेर बाटो देखाउन लागिपरेको छ, स्वास्थ्य र शिक्षा निःशुल्क हुनुपर्छ, सबैले समान सेवा पाउनुपर्छ अनि मात्र समाजवादको बाटो देखिन्छ, स्वास्थ्य र शिक्षा सुधार हाम्रो पहिलो प्राथमिकता हो ।”

मुख्यमन्त्री केसीले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच स्थापित गर्न प्रदेश सरकारर्ले घरदैलोमा डाक्टर कार्यक्रम’ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । त्यसको लागि कार्यविधि निर्माण भइरहेको बताउँदै उहाँले आर्थिक अभावका कारण अस्पतालसम्म आउन नसकेका बिरामीलाई गाउँमै डाक्टर पठाएर उपचार सेवा दिइने बताउनुभयो ।

उहाँले लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी सबै किसिमका उपचार प्रविधि, उपकरण र दक्ष चिकित्सकबाट सेवा दिने रणनीतिका साथ अघि बढेको बताउनुभयो । उहाँले सबै सामुदायिक विद्यालयलाई सुधार गरी अब्बल बनाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिएको पनि बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले ग्रामीण क्षेत्रमा स्थापना भएको अस्पतालको सेवा प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन पाल्हीनन्दन गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो । पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गरिएको हो । जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल थिएन् ।

यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता थियो । दुई जना चिकित्सकसहित स्वास्थ्यकर्मीबाट प्राथमिक स्वास्थ्य केन्द्रको सेवा निरन्तरता दिँदै व्यवस्थित प्रयोगशाला, बिरामी भर्ना गरी अस्पतालबाट सेवा सुरु गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।