पुस ८, २०८१
काठमाडौं लगायत अन्य ठाउँमा  लोडसेडिङको समस्या

काठमाडौं लगायत अन्य ठाउँमा लोडसेडिङको समस्या

जाडोयाम सुरु भएसँगै सहरी क्षेत्र र विशेष गरी काठमाडौं उपत्यकामा बिजुली झ्याप्प–झ्याप्प जान थालेको छ, त्यो पनि बिनाजानकारी र कैयौं घण्टासम्म । लोडसेडिङ हटे पनि विद्युत् प्रणाली भरपर्दो र सुरक्षित हुन नसकेको भनेर जनगुनासाहरू बढ्न थालेका छन् ।

खासगरी सहरी क्षेत्र र काठमाडौं उपत्यकाको बिजुली व्यवस्थापन प्राधिकरणका लागि निकै ठूलो समस्याको विषय बनिरहेको छ । यसको एउटा प्रमुख कारण हो— जीर्ण र न्यून गुणस्तरको विद्युत् वितरण पूर्वाधार । विगतमा विस्तार गरिएको कमजोर पूर्वाधारमाथि छानबिन त गर्नैपर्छ तर फेरि लोडसेडिङको आभास दिलाउने वितरण प्रणाली तत्कालै सुधार्न पनि आवश्यक छ ।

उपत्यकाको माग व्यवस्थापनकै लागि भनेर प्राधिकरणले अहिले चक्रपथबाहिरका विभिन्न नौ स्थानमा सबस्टेसनहरू बनाइरहेको छ । यी सबै सबस्टेसन बनिसक्दा उपत्यकाको प्रसारण र वितरण प्रणालीमा १ हजार मेगावाटसम्मको भार धान्ने क्षमता थपिन्छ । उपत्यकाका भित्री सडकमा पनि १२० केभी क्षमताका प्रसारण लाइन बिछ्याउनुपर्ने अवस्था सृजना भइसकेको छ । चक्रपथको बाहिरी क्षेत्रमा २२० र ४०० केभी क्षमताका हाई भोल्टेज प्रसारण लाइन बनाइनुपर्छ ।

चार वर्षअघिसम्म विद्युत् माग धान्न नसक्ने अवस्थामा रहेको प्राधिकरणका लागि अहिले उत्पादित विद्युत्‌को खपत सबैभन्दा ठूलो चुनौती बनेको छ । कार्यकारी निर्देशकका रूपमा दोस्रो कार्यकालका लागि आएलगत्तै कुलमान घिसिङले ऊर्जा खपतका लागि ‘उज्यालो र सफा सहर अभियान’ लागू गर्ने घोषणा गरे । सहरका सार्वजनिक स्थलहरूलाई उज्यालो बनाउने योजना कार्यान्वयनका लागि हालसम्म २० नगरपालिकासँग सम्झौता भइसकेको छ । अर्कातर्फ सबै औद्योगिक क्षेत्रमा चाहिएजति बिजुलीको सुविधा दिने भनेर प्राधिकरणले उद्योगी–व्यवसायीहरूलाई आश्वस्त तुल्याइरहे पनि त्यसमा सफलता भने पाएको छैन ।

सुक्खायाममा वितरण प्रणालीमा अझ बढी समस्या देखिन्छन् । प्राधिकरणले पोल सार्ने, ट्रान्समिटर बदल्ने लगायतका काम यही बेला बढी गर्छ । हिउँदयाममा हावाहुरीका कारण प्रसारण र वितरण प्रणालीमा हुने ट्रिपिङ अर्को समस्या हो ।