पुस ९, २०८१
बैंकहरुले बढाउन थाले स्प्रेड दर, कर्जा दिने पैसा नभएपछि रेट बढाएरै नाफा कमाउने दाउमा बैंक

बैंकहरुले बढाउन थाले स्प्रेड दर, कर्जा दिने पैसा नभएपछि रेट बढाएरै नाफा कमाउने दाउमा बैंक

लगानीयोग्य रकम धेरै हुँदा केन्द्रिय बैंकले तोकेको विन्दुभन्दा पनि करिब ५० प्रतिशत तल झरेको वाणिज्य बैंकहरुको स्प्रेड दर पुनः बढ्न थालेको छ।

दोस्रो त्रैमासयता वाणिज्य बैंकहरुकाे निक्षेप र कर्जाबीचको अन्तर स्प्रेड दर बढ्दै गएको देखिन्छ। बैंकहरुले प्रकाशित गरेको स्प्रेड दर हेर्दा माघ र फागुनमा सबैजसो बैंकले स्प्रेड दर बढाएका छन्।

अहिले केन्द्रिय बैंकले ४.४ प्रतिशतभन्दा कम स्प्रेड दर कायम गर्नुपर्ने व्यवस्था गरेको तर पछिल्लो समय धेरै बैंकले स्प्रेड दर ३ प्रतिशतको हाराहारीमा झारेका थिए। दोस्रो त्रैमाससम्ममा त बैंकहरुको औसत स्प्रेड दर २.९९ प्रतिशतमा नै झरेको थियो।

गत वर्ष धेरै तरलता हुँदा बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा स्प्रेड दर घटाएका थिए। बैंकमा लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरुले ग्राहकलाई सस्तो ब्याजदरमा नै कर्जा उपलब्ध गराउन एकातिर स्प्रेड दर घटाउदै लगेका थिए भने अर्कोतर्फ बेसरेटमा नै कर्जा दिँदै आएका थिए।

तर अहिले बैंकहरुले निक्षेपको ब्याज बढाउदा आधार दर पनि बढेको छ। अर्कोतिर उनीहरुकाे स्प्रेड दर पनि बढ्दै गएको छ। यस्तै बैंकहरुले प्रिमियम पनि महँगो बनाउदै लगेका छन्। जसको असर ऋणीलाई परेको छ।

बैंकहरुले लगानीयोग्य रकम धेरै हुँदा रेट घटाए रै भए पनि आफ्नो कर्जाको पोर्टफोलियो बढाएका थिए। उनीहरु जति सक्दो धेरै कर्जा विस्तार गरेर नाफा कमाउने बाटोमा लागेका थिए। तर अहिले लगानीयोग्य रकम कम हुँदा कर्जाको पोर्टफोलियो बढाउन सक्ने अवस्था छैन। एकातिर निक्षेप नबढ्दा उनीहरुको सिडि रेशियो बढ्दै गएको छ भने अर्कोतिर पूँजीकोषमा समेत दबाव बढ्दै गएको छ। जसले गर्दा उनीहरुले आफ्नो आम्दानीलाई मेन्टेन गर्न रेट बढाउन थालेका हुन्। कर्जाको विस्तार कम भए पनि ब्याजदर बढ्दा उनीहरुले बढी ब्याज आम्दानी गर्ने गर्छन। स्प्रेड दर बढ्दा बैंकहरुको खुद ब्याज आम्दानी बढ्छ।

गत वर्ष बैंकहरुलाई जसरी पनि कर्जा लगानी बढाउनु परेको कारण स्प्रेड दर घटाएरै भए पनि उनीहरु कर्जा विस्तारमा केन्द्रित भएको भए पनि अहिले लगानीयोग्य रकम नभएका कारण यस्तो दरहरु बढ्न सक्ने एक बैकर बताउछन्।

पुसको तुलनामा बैंकहरुले माघमा १.२२ प्रतिशतविन्दुसम्मले स्प्रेड दर बढाएका थिए। माघमा स्प्रेड दर उच्च दरले बढाएपछि फागुनमा भने केहि घटेको छ। तर औसतमा हेर्ने हो भने यो दुई महिनामा स्प्रेड दर ०.१८ प्रतिशत विन्दुदेखि १.०८ प्रतिशत विन्दुसम्मले बढेको छ।

फागुनसम्ममा एनआइसी एशिया बैंकको स्प्रेड दर सबै भन्दा धेरै छ। उसले स्प्रेड दर केन्द्रिय बैंकले तोकेको सबैभन्दा माथिल्लो सिमामा छ। यस्तै प्रभु बैंकको पनि ४ प्रतिशभन्दा माथि छ।

केन्द्रिय बैंकले स्प्रेड दरमा सिमा नतोक्दासम्म बैंकहरुले ५-६ प्रतिशतसम्म स्प्रेड दर कायम गर्ने गरेका थिए। अहिले लगानीयोग्य रकम अभावका कारण व्यवसाय विस्तार गर्न नसक्ने भएपछि बैंकहरुले नाफा कमाउन पुनः स्प्रेड दर बढाउन थालेको देखिएको छ।

स्प्रेड दर भनेको बैंकहरुले कर्जामा लिने औसत ब्याजदर र निक्षेपमा दिने औसत ब्याजदरको अन्तर हो। यसरी कर्जा र निक्षेपको औसत ब्याजदरको अन्तर बढ्दै जाँदा बैंकहरुले निक्षेपमा दिने ब्यजभन्दा कर्जामा लिने ब्याजदर धेरै बढ्छ। जसले गर्दा उनीहरुले निक्षेप खातामा दिने भन्दा कर्जाबाट आउने ब्याज पनि धेरै हुन्छ।

बैंकले आर्जन गर्ने नाफामा स्प्रेड दरको ठूलो भुमिका रहन्छ। विगतका वर्षहरुमा स्प्रेड दर धेरै राखेर नाफा कमाएको आरोप बैंकहरुलाई लाग्ने गरेको थियो। बैंकहरुको स्प्रेड दर धेरै हुँदा खुद ब्याज आम्दानी बढ्छ भने स्प्रेड दर कम हुँदा खुद ब्याज आम्दानीमा असर पर्छ। केहि समय यता बैंकहरुबीच प्रतिस्पर्धा बढ्दा यस्तो दर घट्दै आएको थियो। यसले बैंकहरुको आम्दानी घटाएको थियो।

स्प्रेड दर घटेर तल्लो विन्दुमा पुगेपछि केही समय यता बैंकहरुले स्प्रेड दर खारेज गर्नुपर्ने माग समेत राख्दै आएका छन्। उनीहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समेत बैंकहरुबीच प्रतिस्पर्धा बढेको कारण स्प्रेड दर तल्लो विन्दुमा झरिसकेको कारण पनि स्प्रेड दरलाई खारेज गर्नुपर्ने माग राखेका थिए। यद्यपि उनीहरुको सुझाव भने केन्द्रिय बैंकले सम्बोधन गरेको छैन्।